तिरहुत साप्ताहिक
बाराको कलैयामा रहेको बाल एकता माध्यमिक विद्यालय बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्यामा आरोपी सुजित सिंहलाई हिजो १० गते साझ बारा प्रहरीले गोली हानी नियन्त्रणमा लियेको छ ।
सीमावर्ती विश्रामपुर गाउँपालिको क्षेत्रबाट गोली हानेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । भारत विहार राज्यको तीनकोनी गाउँका ३५ वर्षीय सिंहको दुवै खुट्टामा गोली लागेर घाइते भएकाले प्रादेशिक अस्पताल कलैया लगिएको छ ।
सिंहले रूपेशलगायत अर्का युवकको हत्यामा सुटरको काम गरेको प्रहरीको दाबी छ । नियन्त्रणमा लिन खोज्दा भाग्न लागेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सिंहको साथमा रहेको बन्दुक र त्यसमा लाग्ने गोलीसमेत बरामद गरेको जनाएको छ । सिंह हतियारसहित नेपाल प्रवेश गरेको सूचनापछि खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी अधिकारीको भनाइ छ ।
रूपेशको हत्या आरोपित यसअघि एक महिलासहित पाँच जना पक्राउ परेका थिए । उनीहरूमाथि संगठित अपराध मुद्दा चलाएर प्रहरी हिरासतमा राखिएको छ ।
गत कात्तिक १३ गते सोमबार पौने १ बजेतिर स्वर्णकारको कलैयाको मदर्सा टोलमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
नेपाल प्रहरीको खोजी सुचिमा रहेको भारतिये नागरिक सुजित सिह पक्राउ पर्दा बारा प्रहरीले ठूलो सफलता हात पारेको बुझियेको छ ।
