नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित ।

 सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित   


                   तिरहुत साप्ताहिक /

प्रतिनिधि सभामा आज बिहीवार  सभामुख पदको लागिभएको  निर्वाचनमा  नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । आज उनलाई सभामुखमा  निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत परेको छ ।प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

सभामुख घिमिरेको जन्म ताप्लेजुङ जिल्लाको साविकको सिकैचा-३ र हालको श्रीजंगा गाउँपालिका-३ मा बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट २०१३ साल जेठ १३ गते भएको थियो ।


घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरेका थिए भने काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्नातक तहको अध्ययन गरेका छन् । पार्टीको बुर्जुवा शिक्षा बहिष्कार गर्ने निर्णय मान्दै पूर्णकालीन कार्यकर्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीको संगठन विस्तारमा लागेका थिए।

वि.सं.२०३१ सालमा झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए ।

२०३३ सालमा बुर्जुवा शिक्षा बहिष्कार गर्दै गाउँ गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटेका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा पार्टी सदस्यता प्राप्त गरेका थिए ।



Post a Comment

Previous Post Next Post