सिम्रौनगढ नगरपालिकाको नगर सभा सम्पन्न . बजेट र निर्णयको वैधतामाथी गम्भीर प्रश्न


 सुनिल कुशवाहा / तिरहुत साप्ताहिक ।

बाराको सिम्रौनगढ नगरपालिकाको नगरसभा विवादले नगरपालिका अराजकतामा, बजेट र निर्णयको वैधतामाथि गम्भीर प्रश्न


नगरपालिकामा पछिल्लो समय देखिएको गैरजिम्मेवारी र आपसी विरोधाभासका कारण स्थानीय शासन प्रणाली नै संकटमा परेको छ। मिति २०८२/१०/१५ गते बिहान १० बजे आव २०८२/८३ को व्यय बजेट सन्दर्भमा दशौँ नगरसभाको दोस्रो बैठक (बन्द सत्र) बस्ने गरी औपचारिक आह्वान गरिएको थियो।

तर तोकिएको मिति र समयमा मेयर तथा प्रमुख प्रशासकीय अधिकृत कार्यालय समयभरि बिना कुनै पूर्वसूचना अनुपस्थित रहेपछि बैठक बस्न सकेन। निर्वाचन आचारसंहिताको कारण देखाउँदै बैठक स्थगित गरिएको जनाइए पनि यसले नगरवासीलाई थप अन्योलमा पारेको छ।

यसैबीच, अर्को पक्षले भने दिउँसो ३ बजे सहमति भई साँझ ६ बजेसम्म बैठक बसेको र नगरसभा सम्पन्न भएको घोषणा गरेको छ। एउटै नगरसभाबारे यति गम्भीर रूपमा फरक–फरक दाबी आउनुले बजेट पारित प्रक्रिया, निर्णयको कानुनी वैधता र प्रशासनिक पारदर्शितामाथि गहिरो प्रश्न उठेको छ।

यस अवस्थाले विकास निर्माण कार्य अवरुद्ध हुने, सेवा प्रवाह ठप्प पर्ने, कर्मचारी अन्योलमा पर्ने र अन्ततः नगरवासी प्रत्यक्ष मारमा पर्ने देखिएको छ। स्थानीय सरकारभित्र देखिएको यस्तो अराजकता तत्काल समाधान नगरे कानुनी विवाद र सामाजिक असन्तोष चुलिने खतरा बढ्दै गएको छ। 

Post a Comment

Previous Post Next Post